९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

६ वैशाख, डोटी ।  जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।

वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका– ५ का स्थानीय लालबहादुर सार्कीले बताए ।

उनले भने, “पहिला आयोडिन नुन पाउँदैन थियो । अहिले सहजै आयोडिन युक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दै छौँ ।” साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँमा पनि नुनको गोदामको व्यवस्था गरी बिक्री गर्न थालेपछि उपभोक्तालाई आयोडिन युक्त नुन किन्न सजिलो भएको हो ।

 

जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु १६ मा आयोडिनयुक्त नुन वितरण हुन थालेपछि जिल्लाका सात स्थानीय तहका नागरिकलाई मागअनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ । यसभन्दा पहिले जिल्लाको दिपायल पिपल्लामा मात्रै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शाखा स्थापना गरी नुन वितरण गर्दै आएको थियो ।

विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने भएकाले पनि स्थानीयहरु ढिके नुन नै बढी प्रयोग गर्र्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीय दीपक खवासले बताउनुभयो । उहाँले भन्नुभयो, “नुन लिनका लागि घण्टौ हिडेर दिपायल पुग्नु पथ्र्यो । अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ ।”

आयोडिनयुक्त नुन किन्नका लागि जिल्ला सदरमुकाम लगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको सलेनाका स्थानीय जगतबहादुर बलायरले बताए । उनले भने, “सस्तो र भनेको ठाउँमा आयोडिनयुक्त नुन पाउन थालेपछि अहिले गाउँमा ढिके नुन विस्तारै लोप हुँदै जान थालेको छ ।”

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायलकाअनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग पछिल्लो समय निकै घट्दै गएको छ । आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको रानागाँउ एलाका स्वास्थ्य कार्यालयका प्रमुख बेदप्रकाश जोशीले बताए ।

उहाँले भन्नुभयो, “शरीरमा हुने अनावश्यक रोग हटाउन तथा आयोडिन पाउनका लागि भए पनि आयोडिनयुक्त नुन प्रयोग गर्न सबैलाई जरुरी छ ।” आयोडिनयुक्त नुनका कारण यहाँका ग्रामीण क्षेत्रमा ढिके नुनको आयात रोकिँदै गएको छ ।

आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जनचेतना फैलाउन सके प्रयोगदर अझ बढ्ने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “नुन बिक्रीभन्दा पनि त्यसबाट हुने फाइदाका बारेमा जानकारी दिन सके ढिके नुन आफै विस्थापित हुनेछ ।”

जिल्लाको कूल जनसङ्ख्याको ७० प्रतिशतले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखा कार्यालयको दाबी छ । गाउँमा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढाउनका लागि यहाँका गाउँपालिकाले पनि सहुलियत दरका पसल खोली गाउँगाउँमा आयोडिनयुक्त नुन बिक्री वितरण गरिरहेका छन् ।

ढिके नुन विस्थापित गराई आयोडिन युक्त नुन मात्रै चलन चल्तीमा ल्याउने गरी योजना बनाउने तयारी भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, “सबैलाई अनिर्वाय आयोडिनयुक्त नुन प्रयोग गर्न उत्साहित गर्न हामी छिट्टै नै नयाँ योजना बनाएर वडा वडामा छिर्ने छौँ ।”

प्रकाशित मिति : April 19, 2019 at 1:33 pm