१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

विद्यार्थी भर्ना अभियान सफल पार्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अपिल

३ वैशाख, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन अपिल गरेका छन । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै मन्त्री पोखरेलले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरेका छन ।

मन्त्री पोखरेलले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता औँल्याएका छन । शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताएका छन ।

यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको बताए ।

प्रकाशित मिति : 13:56