१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

चार वर्षमा पनि भएन दशरथ रङ्गशालाको पुनर्निर्माण, अब धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने कि ?

३ वैशाख, काठमाडाैँ । देशकै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशालाको रूपमा रहेको दशरथ रङ्गशालामा खेलकूद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ को मार्चमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको थियो । तर दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । नेपाली फुटबलको इतिहास बोकेको दशरथ रङ्गशाला विसं २०७२ को भूकम्पपछि जीर्ण बन्यो । भूकम्प गएको वैशाख १२ मा चार वर्ष पूरा हुँदैछ ।

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि मात्र शुरु भएको हो । तर गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूदमा रङ्गशाला तयार गर्ने लक्ष्यसहित काम शुरु गरिएको थियो । पूर्वाधार निर्माणकै अभावमा १३ औँ दक्षिण एशियाली खेलकूद छ महीनाका लागि सरेको छ ।

सन् २०१३ मा निर्माण गरिएको दशरथ रङ्गशाला शरदचन्द्र शाह सदस्य–सचिव रहेका बेला २०३४ देखि तीन वर्ष लगाएर यसकोे स्तरोन्नति र अन्तर्राष्ट्रियस्तरको बनाइएको थियो । रङ्गशालाको अहिलेको स्वरुप भने नेपालले आठौं दक्षिण एशियाली खेलकूदको आयोजना गर्दा चीन सरकारको सहयोगमा सन् १९९९ मा निर्माण गरिएको थियो ।

लामो समयसम्म दशरथ रंगशालाको पुनर्निर्माण सरकारले गर्न नसकेपछि अब रंगशालाको जिम्मा धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने कि ? भन्ने कोणबाट बहस सुरू भएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलुकुद परिषद्ले काम गर्न नसकेपछि अन्तिम विकल्पको रूपमा धुर्मुस–सुन्तली फाउण्डेसनको नाम अघि अाएको हो । सरकारले गर्न नसकेका सबैजसो काम फाउण्डेसनले गर्न सक्ने भन्दै सरकारले नै गाैतमबुद्ध क्रिकेट स्टेडिएम बनाउने जिम्मा दिएको छ ।

प्रकाशित मिति : 09:44