१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

चन्द्रागिरी–चेपाङहिल पदमार्गको नाम ‘गाँजा ट्रेकिङ ट्रायल’ राख्न सांसद त्रिपाठीको सुझाव

२ वैशाख, धादिङ । महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा भएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।

कार्यक्रमका विशेष अतिथि धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चन्द्रागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गर्नुभएको छ । यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्व बारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘गाँजा बेच्न र ओसारपसार गर्न प्रतिबन्धित छ, तर नाम राख्न त प्रतिबन्ध छैन नि !’ अर्को उदाहरण दिँदै उहाँले भन्नुभयो, गैंडा मार्न बेच्न पाइन्न । तर गैंडाको नाममा कयौं प्रतिष्ठानहरु खुलेका छन्, त्यसैले ‘गाँजा पदमार्गको रुपमा स्थापित गरौं ।’

गाँजा विकसित राष्ट्रहरुले लागुऔषध हैन, यो मेडिसिन हो भनेर खुल्ला गरिसकेको छ, त्रिपाठीले भन्नुभयो ‘जसले यो प्रतिबन्धित भनेको थियो उसैले खुल्ला गरिसकेको छ भने हामी किन नगर्ने ? हामीले पनि यो अभियान शुरु गरिसकेका छौं । संसद भित्र यो विषयले प्रवेश पाइसकेको छ ।’ त्रिपाठीले गाँजा ओसारपरास गरेको, भरिया भएको निहँुमा दर्जनौं स्थानीय अझै पनि जेल परेको बताउँदै कानुनले ओसारपसार गर्न पाइन्न भनेकाले यसलाई फुकुवा गर्नुपर्ने धारणा राख्नुभयो । ओसारपसार र किनबेचमा नलागी पर्यटकलाई औषधिको रुपमा चखाउन भने सकिने बताउनुभयो । ‘हाम्रो जंगलमा त्यत्तिकै उम्रिने जाँजालाई हामी पर्यटक आकर्षित गर्ने प्रडक्ट बनाउन सक्छौं’ भन्दै उहाँले यस क्षेत्रको समृद्धिका निम्ति गाँजा हिललाई स्थापित गर्न लागि पर्ने बताउनुभयो ।

प्रसंग बदल्दै त्रिपाठीले भन्नुभयो ‘हाम्रो महाभारतको लेकमा कसरी समृद्धि ल्याउने भनेर अध्ययन गर्न हामी यहाँ आएका हौं । ‘समृद्धि राजमार्ग क्षेत्रमा मात्र हैन, महाभारत लेकमा पनि आउनुपर्छ । कसरी समृद्धि ल्याउने भनेर गृह कार्य गरेका छौं । चन्द्रागिरिदेखि तोप्लाङहुँदै प्रत्येक बसाइमा फरक फरक गन्तव्य बनाउँदै छौं ।’ गन्तव्य बनाउँदा यहाँको एकीकृत विकास गर्ने योजना बनाएको बताउँदै सांसद त्रिपाठीले सडक कालोपत्रे देखिहोमस्टे प्रवद्र्धनका काममा लागेको बताउनुभयो ।

यहाँ दशौं अर्व खर्च गर्न सक्ने प्रोजेक्ट बनाएको जानकारी दिँदै सांसद त्रिपाठीले संसारकै ठुलो शिव मुर्ति यही रुटमा बनाउन लागिएको बताउनुभयो । प्रत्येक बसाइमा नयाँ गन्तव्य बनाउन लागिएको बताउँदै यो रुटमा एक दिनदेखि नौ दिनसम्म जति मन लाग्छ त्यति दिन हिँड्ने र छोट्याउन चाहे दुई घण्टामा पृथ्वीराजमार्ग पुगेर आफ्नो गन्तव्यमा पुग्न सकिने बताउनुभयो । यहाँको लागि कस्तो पूर्वाधार बनाउन आवश्यक छ भनि अध्ययन गर्न आएको बताउँदै सांसद त्रिपाठीले भन्नुभयो तोप्लाङमा भ्यूटावर सहित होमस्टे, रानीझरनामा क्यानोनिङ पार्क, थामभञ्ज्याङमा बुद्ध मूर्ति सहित पार्क, भूमिचुलीमा गुम्बा र स्तुपा, कैलाश–सुन्दरनांगीमा संसारकै ठुलो शिव मुर्ति, कान्द्राङ गढीमा पार्क र नोहक गुफा संरक्षण र पदमार्ग निर्माण गर्ने योजना बनाएका छौं । यी कामका लागि प्रस्तावहरु पेश गरिसकिएकोले आगामी बजेटबाटै कार्यान्वयन शुरु हुने उहाँले बताउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले गर्न सक्ने पूर्वाधार निर्माणका निम्ति आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । विकासका निम्ति स्थानीय आफैं अग्रसर हुनुपर्छ भन्दै बस्नेतले कृषि र जडिबुटी पनि पर्यटन प्रडक्ट भएकाले फलफुल खेतीमा अगाडी बढ्न सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले यस क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारसंग समन्वय गर्ने बचनबद्धता गर्नुभयो ।

कार्यक्रममा टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले छिट्टै नै चन्द्रागिरी चेपाङहिल पदमार्गको संभाव्यता अध्ययन गरिने बताउनुभयो । अध्ययनका लागि टानले नेपाल पर्यटन बोर्डमा प्रस्ताव पेश गरिसकिएको जानकारी दिँदै भन्नुभयो काठमाडौंबाटै हिँडेर शुरु हुने यो पदमार्गले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य नेत्रराज पौडेल, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधादेवी तिमिल्सिना, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोकर्ण रुपाखेती, थाक्रे र गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : April 15, 2019 at 11:18 pm