२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

चैते दशैँकाे अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट मौलो पूजा


३० चैत, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा तथा निसानमा पञ्जा छापसमेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुका साथै नव वर्ष २०७६ को सुखद उपलक्ष्यमा शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार ११:५५

https://srdb.com.np/