१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पूर्व सांसद भण्डारीको निधनमा नेकपा गुल्मी तथा मन्त्रीद्धय ज्ञवाली र विष्टद्धारा दुःख प्रकट


२८ चैत, गुल्मी । नेपाली कांग्रेसका नेता लोकतान्त्रिक आन्दोलनका अग्रणी राजनीतिज्ञ एवं पूर्व सांसद रुद्रमणि भण्डारीको निधनमा नेकपा गुल्मी र गुल्मीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने मन्त्रीद्धय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले दुःख प्रकट गरेका छन । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा बिहीबार बिहान भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय भण्डारी २०४८ सालमा गुल्मी ३ बाट कांग्रेसकोतर्फबाट निर्वाचित भएका थिए ।

भण्डारीको निधनमा नेकपा गुल्मीले शोक विज्ञप्ति नै प्रकाशित गरेको छ । नेकपाका नेताद्धय बुद्धि जिसी र बालसिंह काउचाले संयुक्त रूपमा शोक विज्ञप्ति जारी गर्दै भण्डारी जनताको प्रिय नेता भएको उल्लेख गरेका छन । उनीहरूले भण्डारीको निधनले लोकतान्त्रिक अान्दोलनमा उपुरणीय क्षति पुगेको जनाएका छन । दुर्घटनामा मृत्यु भएका अन्यप्रति पनि नेकपा गुल्मीले श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीले भण्डारी अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित रहेको र  उहाँसँगका सहकार्यका पलहरू झलझली संझिरहेको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका नेकपा नेता गोकर्ण विष्टले असल इमान्दार र क्रियाशील समाजसेवी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी राजनीतिज्ञको रूपमा भण्डारीको सम्झना गरेका छन । मन्त्री विष्टले भण्डारीको निधनले सामाजिक राजनीतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै भण्डारीप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार २१:५५

https://srdb.com.np/