१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

डा गोविन्द केसीका कार्यकर्ता चिकित्सक कर्णाली प्रदेश जानै मानेन्


२७ चैत, काठमाडाैँ । कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । डा. गोविन्द केसीले दुरदराजमा समेत चिकित्सा सेवा पु¥याउनुपर्छ भन्दै गरेको अनसनमा यी चिकित्सकहरुले पनि समर्थन जनाएका थिए । तर, समायोजनका बेला शहर तिर हानिन खोजेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् ।

कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । ‘हामीकहाँ चिकित्सक दरबन्दी नै कम छ,’ उनले भने, ‘त्यहीमाथि बाहिरका यहाँ आउनै मान्दैनन् ।’

स्वास्थ्य सेवातर्फ कार्यरत कर्णालीका डाक्टर–कर्मचारीसहित ४० जनाले प्रदेश बाहिरका जिल्ला, स्थानीय तह र संघलाई रोजेका छन् । डाक्टर–कर्मचारी गरी ३३ जनाले कर्णालीलाई आफ्नो रोजाइमा पारेकामा १६ जना कर्णाली बाहिरका छन् । कतिपय डाक्टरले भने कर्णाली प्रदेश रोजे पनि सरकारले संघमा पारेको बताएका छन् ।‘यत्रो वर्ष कर्णालीमा काम गरियो, बाँकी समय पनि कर्णालीमै बिताउने सोचले प्रदेशमा फाराम भरेको थिएँ,’ डा. केशर ढकालले भने,‘मलाई संघमा राखियो ।’ कर्णालीमा ९ जिल्ला अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, आठ जिल्ला आयुर्वेद केन्द्र र दुई आयुर्वेद औषधालय छन् ।

समायोजनको असर प्रदेश अस्पताल सुर्खेतमा पनि देखिएको छ । २४ विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले कार्यरत ११ मध्ये ९ जनाले संघ र अरू प्रदेश रोजेका छन् । प्रदेश अस्पतालमा समायोजनपछि दुई जना मात्र विशेषज्ञ डाक्टर हुने भएपछि अप्रेसनलगायतका महत्त्वपूर्ण विशेषज्ञ सेवा प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले बताए ।

‘हामीले जेनतेन धानेका थियौं,’ उनले भने, ‘त्यसैमाथि यही प्रदेश रोजेकालाई पनि अन्त पठाएपछि समस्या भएको छ ।’ समायोजनको पदस्थापनापछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. अमित सिंह र सर्जन डा. सुजन सापकोटा मात्र रहनेछन् । चार जना स्थायी मेडिकल अधिकृतमध्ये एक जनाबाहेक अरूले कर्णाली प्रदेश रोजेनन् । आफूहरूलाई संघमातहत राखेर सबैतिर जाने व्यवस्था गर्नुपर्ने माग डाक्टरहरूको छ । ‘आठौं तहको डाक्टरलाई स्थानीय तहमा पठाइएको छ,’ डाक्टर खड्काले भने,‘आठौं तहको डाक्टरले पाँचौंरछैटौं तहको मातहतमा बसेर कसरी काम गर्ने ?’

प्रदेश अस्पतालको स्तरोन्नति गरेर कर्णालीमै सर्वसुलभ स्वास्थ्य सेवा दिने लक्ष्यमा केन्द्र सरकारले बाधा पैदा गरेको सामाजिक विकासमन्त्री दल रावलले बताए । प्रदेश अस्पताललाई तीन सय शय्याको बनाएर उपचार सेवा प्रभावकारी बनाउने कर्णाली प्रदेश सरकारले उद्घोष गरेको थियो । ‘अब विशेषज्ञ स्वास्थ्य सेवा जटिल हुने देखियो,’ मन्त्री रावलले भने। जनता टाइम्सबाट

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ११:२२

https://srdb.com.np/