१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

सुरक्षा खतरा रहेको भन्दै लिबियामा रहेका नेपाली सेना फर्काउन राष्ट्रसंघलाई सरकारले लेख्यो पत्र


२७ चैत, काठमाडौँ । सुरक्षा खतरा रहेको भन्दै सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ ।

विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।

‘परिस्थितिको आकलन गरेर सरकारको तहबाट राष्ट्रसंघीय निकायलाई पत्राचार भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले भने । त्यहाँ रहेका राष्ट्रसंघीय कार्यालय अधिकारीहरू छिमेकी देश ट्युनिसिया पुगेका छन् । नेपाली सैनिकले त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन कार्यालय र विशेष प्रतिनिधिको सुरक्षा गरिरहेका छन् । नेपाली सैनिकलाई विद्रोही सैनिकबाट सुरक्षा खतरा रहेको सेनाको विश्लेषण छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०९:५०

https://srdb.com.np/