३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

गायक प्रमोद खरेलले यसरी सम्झिए स्वर्गीय रविन्द्र अधिकारीलाई

२४ चैत, चिप्लेढुङ्गा । ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरूको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो ।

एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए ।

“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरू झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरू देखिए । गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरूमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरूलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।”

सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो । प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए ।

बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए ।
पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ । सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्यरूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 11:51