३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

विद्युत् अनियमित हुँदा सेवा प्रवाह प्रभावित

–भेषराज बस्नेत

२३ चैत, राँझा । विद्युत् अनियमित हुँदा बाँकेमा उद्योग, व्यापार तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । बाँकेमा करीब एक महीनादेखि विद्युत् प्रवाह अनियमित भएको छ । विद्युत् प्रवाह अनियमित हुँदा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यम, फर्निचर, मासु, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित उद्योग व्यवसाय प्रभावित बनेका घरेलु तथा साना उद्योग महासङ्घका सचिव मधु खड्काले बताउनुभयो ।

उहाँका अनुसार, विद्युत् आउनेजाने क्रमको निश्चित नहुँदा मेसिनरीकार्य सञ्चालन प्रभावित भएको छ । विद्युत् प्रवाह अनियमित हुँदा यहाँका घरेलु तथा साना उद्योगको उत्पादन प्रभावित भएको छ । उहाँले विद्युत् प्रवाह नियमितता र लोड वृद्धिका लागि पटक÷पटक विद्युत् कार्यालयमा पुगेर अनुरोध गरेको उल्लेख गर्नुभयो ।

“मेसिन चलिरहेको बेला बत्ती जाँदा समस्या हुने गरेको छ, कतिपय मेसिन त बिग्रिने समेत गरेका छन्”, खड्काले भन्नुभयो, “बत्ती आउनेजाने निश्चित नहुँदा लक्ष्य अनुसारको उत्पादनमा समेत कमी आउने गरेको छ ।” नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

गर्मीयामको शुरुवातसँगै विद्युत् प्रवाह अनियमित हुँदा सर्वसाधारणको दैनिक जनजीवन समेत प्रभावित हुन पुगेको उहाँको भनाइ छ । विद्युत्को नियमित प्रवाहका लागि पटक÷पटक पहल गरिए पनि नियमित हुननसकेको उहाँले गुनासो गर्नुभयो । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवले यही चैत २५ गतेसम्म विद्युत् प्रवाह अनियमित हुने जानकारी दिनुभयो । कोहलपुर क्षेत्रमा ठूलो क्षमताको ट्रान्सर्फमर जडानकार्य भइरहेकाले विद्युत् प्रवाह अनियमित भएको यादवले बताउनुभयो ।

कोहलपुर सब स्टेशनमा यसअघि ३०÷३० एमपिएका दुई ट्रान्सर्फमर रहेकामा त्यसमध्येको एउटा ३० एमपिएलाई बदलेर ६३ एमपिएको नयाँ ट्रान्सर्फमर जडान गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ ट्रान्सर्फमर राखेपछि जिल्लाको विद्युत् प्रसारण क्षमता ९३ एमपिएमा वृद्धि हुने र कोहलपुर सव स्टेसनबाट प्रसारण हुने कोहलपुर, नेपालगञ्ज, गुलरिया, सुर्खेतलगायतका क्षेत्रमा विद्युत् प्रवाहमा सहजता आउने प्राधिकरणका प्रमुख यादवले बताउनुभयो ।

 

प्रकाशित मिति : 13:38