गोर्खाहरुकाे आन्दोलन नेपालको स्वाभिमानसँग जोडिएको छः नारायणकाजी श्रेष्ठ
२२ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताएका छन् । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उनको भनाई छ ।
शुक्रबार काठमाडौंमा गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले गोर्खाहरुको न्यायपूर्ण आन्दोलनमा नेपाल सरकार, राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘यो नेपालको स्वाभिमानको लडाई हो, नेपालको सार्वभौमसत्तासँग जोडिएको लडाई हो ।’ नेता श्रेष्ठले गोर्खाहरुमाथिको विभेद अन्त्यका लागि नेपाल सरकारले नै पहल गर्नुपर्ने भएपनि यसअघि त्यसो नभएको बताए । उनले भने, ‘यो नेपाल सरकारले नै उठाउनुपर्ने बिषय थियो तर यसअघि यो उठाइएन । गेसो जस्तो संगठनले उठाउँदै आयो । यसका लागि हामी सबैले धन्यवाद दिनपर्छ ।’ तर, अब वर्तमान सरकार र नेकपाले गम्भिरताको साथ उठाउने उनको भनाई छ ।

नेता श्रेष्ठले अब गोर्खा भर्ती लगायतका बिषयमा त्रिपक्षीय सम्झौताका आधारमा होइन बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने बताए । भर्ती लगायका बिषयमा राष्ट्रिय सहमति जुटाएर नयाँ सम्झौता र निर्णय गरिनुपर्ने उनको भनाई छ । त्रिपक्षीय सम्झौतालाई बेलायती अदालतले नै अबैधानिक भनेर खारेज गरेको घोषणा गरीसकेको अवस्थामा त्यसको आधारमा गरिनु नहुने उनको भनाई छ । गोर्खा भर्ती जारी राख्ने या नराख्ने ? यो बिषयमा समेत दुई देशबीच सम्झौता हुनुपर्ने उनको भनाई छ ।
नेता श्रेष्ठले गोर्खाहरुमाथिको जारी विभेद बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दूतावास) र गोर्खाहरुको प्रतिनिधि सहभागी त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको आधारमा नै हुनुपर्ने बताए । यसका लागि नेपाल सरकार पनि गम्भिर भएर कुटनीतिक पहल गर्नुपर्ने बताए । नेता श्रेष्ठले गोर्खाहरुको बिषय पार्टी र सरकारमा कुरा उठाउने पनि बताए ।
प्रकाशित मिति : 21:14









