७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

जनकपुरधाम पुगेर बाबुरामले किन गरे फेरि द्वन्द्वको कुरा ?

२१ चैत, जनकपुरधाम । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले संविधान संशोधन नगरी जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न सकिने पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाउनु द्वन्द्व सिर्जना गराउने नियत हो भन्नुभएको छ ।

नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो कुरा भन्नुहुँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रमुख जिल्ला अधिकारीले सो पत्रको कार्यान्वयन गर्ने सम्भावना न्यून रहेको धारणा राख्नुभयो ।

नयाँ शक्ति पार्टीका संयोजकसमेत रहनुभएका डा भट्टराईले संविधानमा भएको त्रुटिलाई यथाशीघ्र संशोधन गरी विद्यमान समस्याको समाधान गर्नु अपरिहार्य भइसकेको धारणा राख्नुहुँदै सरकारले प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाउन खोज्नु सङ्घीयता विरोधी अवधारणा हो भन्नुभयो । उहाँले लोकतान्त्रिक चेतना फैलाउनमा अग्रणी भूमिका खेलेका मधेशी जनताले सबै मानव जातिको मुक्तिका लागि पनि अग्रसर हुनु जरूरी छ भन्नुभयो ।

नेपाली काङ्गे्रसका केन्द्रीय सरकार आनन्द ढुङ्गानाले सरकार संविधान संशोधनका पक्षमा नरहेको र लोकतन्त्र एवं सङ्घीयतामाथि आक्रमण गरिरहेको आरोप लगाउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादव मधेशको पहिचान, स्वाभिमानका लागि संविधानमा संशोधन आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका महामन्त्री जीतेन्द्रप्रसाद सोनाल सरकारले प्रदेश नं २ मा भएको प्राकृतिक विपद्मा राष्ट्रिय शोक व्यक्त नगरेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । राजनीतिक विश्लेषक रोशन जनकपुरीले सरकारले नागरिकता समस्या समाधान गर्ने नखोज्ने र काठमाडौँका विश्लेषकको गलत मनोविज्ञानले मुलुकको अवस्था जटिल बनेको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : 23:05