३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

अमेरिका बसेरै नेपालकाे सरकारी जागिर पकाउँछन् मेडिकल अधिकृत डा. निशराज बस्नेत  

२१ चैत, जाजारकाेट । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक वर्षदेखि अमेरिका बसेर जाजरकाेट अस्पतालकाे जागिर खाइरहेकाे स्थानीय प्रशासनकाे छड्के अनुगमनमा पत्तालागेकाे छ ।

२०७४ बैशाखदेखि यता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका बस्नेतले २०७५ बैशाख २५ देखि जेठ चार गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए। पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ।

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन्। डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

जागिर जोगाउनकाे लागि साढे आठ महिना बितिसक्दासम्म जम्मा २७ दिन हाजिरी गरेका बस्नेतले  सट्टा बिदा (थप काम गरेको) मात्र दुई महिनाभन्दा बढी लिएको हाजिरी रजिष्टर झिकाएर अनुसन्धान गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी  शर्माले बताए ।

जिल्ला अस्पताल प्रमुख डा. चाँदनी जैसवालले काम नगरेको अवधीको पनि भत्ता लिइरहेको खुलासा भएको छ। उनी दन्तरोग सर्जन हुन्। दन्तरोगका बिरामी इमरजेन्सीमा भर्ना हुन नआउने भएपनि अन्य चिकित्सकसरह इमरजेन्सीमा रात्री सेवा गरेको भन्दै दुई वर्र्षदेखि थप भत्ता लिइरहेको एक चिकित्सकले बताए।

प्रकाशित मिति : 18:40