३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मातृभाषा शिक्षाको विस्तार गरिँदै

२१ चैत, काठमाडौँ ।  ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र  मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ । आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार सन्तानलाई मातृभाषामा पढाउन अभिभावकको चाहना बढ्दै जाँदा महानगरपालिकाले मातृभाषालाई विस्तार गर्न लागेको हो । उहाँले भन्नुभयो, “पहिलो चरणमा कम्तीमा एउटा वडामा एउटा हुने गरेर मातृभाषाको विद्यालयको शुरुआत हुनेछ ।”

महानगरभित्रका विद्यालयमा कुन कुन माध्यममा पढाउने भन्ने अभिभावकसँग छलफलसमेत अघि बढाइने महानगरले जनाएको छ । सामुदायिक विद्यालयमध्ये अधिकांशले अङ्ग्रेजी माध्यममा नै पढाउन थालेकाले माध्यमका बारेमा छलफल आवश्यक भएको उहाँले बताउनुभयो ।

विद्यार्थी आकर्षित गर्ने भन्दै अधिकांश सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरे पनि कतिपय अभिभावक नेपाली त कतिपयले मातृभाषासमेत रुचाएका उहाँले जानकारी दिनुभयो । महानगरभित्र दुई सय दुई विद्यालय रहेकामा १८२ निजी र ४० सामुदायिक छन् । महानगरभित्र बाल विकास केन्द्रको सङ्ख्या ७४ छ ।

प्रकाशित मिति : 15:04