३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

केही वर्षभित्र तिब्र आर्थिक बृद्धि भएको देश बनाउछौ : प्रधानमन्त्री ओली

१९ चैत, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएको छ । मंगलबार (आज) ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयो ।उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउन बताउनुभयो ।

‘हामीले केही वर्षभित्रै नेपाल इतिहासमै सबैभन्दा बढी तिब्र आर्थिक वृद्धि भएको देश भनेर विकास गर्छौ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीसँग अहिले प्रविधि छन् त्यो ल्याएर विकास गर्न सक्छौ । यसको बढीभन्दा बढी प्रयोग गरेर आर्थिक विकास गर्छौ।सहकारी आन्दोलन सरकारको आफ्नै आन्दोलन भएको भन्दै प्रधानमन्त्री ओलीले सहकारीले समृद्ध नेपाल सुखी नेपालकी लक्ष्य पुरा गर्न सक्नुपर्ने शुभेच्क्षा व्यक्त गर्नुभयो ।

बाँच्न सहज बनाउने लक्ष्यका साथ सहकारी आन्दोलन शुरू भएको भन्दै प्रधानमन्त्रीले अबको सहकारी आन्दोलन समृद्धिका लागि हुने बताउनुभयो । अबको सहकारी उत्पादनमा लागेर समृद्ध बन्नका लागि केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ‘अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि, आधुनिक प्रविधिको प्रयोगका लागि हुनुपर्छ । समृद्धि र सुखका लागि हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सहकारीको माध्यमबाट ठूलो सहकार्यमार्फत कृषिको आवश्यक आधुनिकीकरण गर्नुपर्छ।

नेपालको समृद्धिको पहिलो शर्त भनेकै कृषिमा आधुनिकीकरण भएको भन्दै उहाँले गरिबीको अन्त्यका निम्ती किसानहरूमा रहेको गरिबीको अन्त्य हुनुपर्ने बताउनुभयो । तर त्यो स्वस्थ तरिकाले हुनुपर्ने उहाँको भनाइ थियो । ‘हामीले कृषिमा आधुनिकरीकरण गर्ने हो तर त्यो स्वस्थ ढंगले गरिनुपर्छ । हामीले व्यापारी देश मात्र होइन स्वस्थ देश पनि बनाउने हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खान पाउने मात्र होइन स्वस्थ, अर्ग्यानिक कुरा खान पाउनुपर्यो । त्यसमा आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने हो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सहकारीसँग जोडेर सामुहिकतामा लैजानु प्रधानमन्त्री ओलीले बताउनुभयो । पैसा हुनेलाई मात्र नभएर पैसा नहुनेलाई समेत सहकारितामा सामेल गराउने अभियान सहकारी भएको भन्दै उहाँले सहकारीले बित्तिय कारोबारमात्र मात्र भन्दा पनि उत्पादनमा बढी जोड दिन आग्रह गर्नुभयो । सहकारीका नाममा एकाध संस्थाले ठगी गरेको भन्दै उहाँले यस्ता कार्यबाट सचेत रहन समेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष विशेष कार्यक्रम गरी मनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघले आज (मंगलबार) विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा ६२ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम भव्य रूपमा मनाएका हुन् । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी’ मूल नाराका साथ यसवर्ष सरकारी स्तरबाटै राष्ट्रिय तहमा सहकारी दिवस भव्य रूपमा मनाइएको हो ।

त्यस अवसरमा कार्यक्रमको बारेमा जानकारी दिँदै सहकारी विकास वोर्डका रजिष्टार डा.टोकराज पाण्डेले २०१३ साल चैत्र २० गते  तवनबाट बखान सहकारी संस्था दर्ता भएर सञ्चालनमा आएपछि विधिवत रूपमा सहकारी आन्दोलन नेपालमा शुरू भएको जानकारी दिनुभयो । रजिष्टार पाण्डेले हालसम्म ३५ हजार ५ सय १२ सहकारी संस्थाहरू क्रियाशिल रहेको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : 22:28