३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पन्ध्र लाख भारु चोरेको आरोपमा बैतडीका नीरजबहादुर चन्द पक्राउ

१७ चैत, बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १५ लाख भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसँग स्वीकार गरेका छन् । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।

चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ । कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुल्न नआएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 12:21