३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

न्यून दृष्टि दम्पतीको घर बन्दै

– कृष्ण न्यौपाने

१६ चैत, दमौली । तनहुँको व्यास नगरपालिका–१२ हुलाकीडाँडाका कमल भुजेल न्यून दृष्टियुक्त हुनुहुन्छ । उहाँकी पत्नी सिर्जना भुजेलले पनि आँखा देख्नुहुन्न । भुजेल दम्पतीको एक छोरा र एक छोरी छन् । छोराले समेत आँखा देख्दैनन् । २७ वर्षका कमलको काँधमा चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।

उहाँ परिवारको लालनपालनका लागि ज्याला मजदुरी गर्नुहुन्छ । आफ्नै भरमा चार जनाको परिवार धान्न उहाँलाई धौधौ परिरहेको छ । उहाँहरुको बस्नका लागि घर छैन । विगत आठ वर्षदेखि ससुरालीबाट हुलाकी डाँडामा जग्गा उपलब्ध भएपछि छाप्रो बनाएर बस्नुभएको छ ।

हावाहुरी र पानी पर्दा निकै समस्या परेको उहाँहरुको परिवारलाई अब भने केही राहत मिल्ने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित युनिटी युवा क्लबको सक्रियतामा भुजेल परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

आर्थिक रुपमा विपन्न र परिवार नै अपाङ्गता भएको थाहा पाएपछि युवाहरुको सक्रियतामा घर निर्माण थालिएको क्लबका अध्यक्ष शिव पन्थ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक दिन गाउँ डुल्दै जाँदा उहाँहरुका बारेमा थाहा पायौँ, लगत्तै युवाहरुको सक्रियतामा रकम सङ्कलन थालियो र घर निर्माण शुरु गरेका छौँ ।”

शौचालयसहितको दुईकोठे घर बनाउन स्थानीय समाजसेवीदेखि विदेशमा रहनेहरुसँग पनि सहयोगको अपिल गरिएको छ । घर बनाउन रु तीन लाख ५० हजार लाग्ने अनुमान छ ।

घर निर्माणको लागि हालसम्म व्यास नगरपालिका–१ का युवा सनम तामाङमार्फत रु ३० हजार, नगरपालिका–२ का नोमा थापाले रु १० हजार बराबरको सिमेन्ट, दीपचन्द्र फर्निचरले घरको चौकोस, मलेशियामा रोजगारी गर्ने स्थानीयबाट रु १४ हजार ६०० र स्थानीय बासिन्दा तथा सङ्घसंस्थाबाट रु २० हजार सङ्कलन भएको छ । नगरपालिकाले रु ५० हजार सहयोग गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतिबद्धता जनाउनुभएको छ ।

वर्षायाम शुरु हुनुअघि नै घर बनाइसक्ने गरी धमाधम काम भइरहेको पन्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर निर्माणका लागि रकम अपुग भइरहेको छ, चन्दा सङ्कलन अभियान पनि चलाइरहेका छौँ ।” जम्मा ७० घरधुरी रहेको यहाँका गाउँलेले कमलको घर निर्माणमा सहयोग गर्ने निर्णय भएको स्थानीयवासी शान्ता भुजेलले बताउनुभयो ।

प्रकाशित मिति : 11:10