बलात्कार गरेर पत्रकार हुँ भन्दै महिलालाई धम्की दिने भुवन धिताल पक्राउ
१५ चैत, दाङ । तीन महिलालाई बलात्कार गरेको आरोपमा दाङका पत्रकार भुवन धिताल पक्राउ परेका छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी बलात्कार र ठगी आरोपमा पक्राउ परेका पत्रकार धिताललाई सार्वजनिक गरेको छ । धितालमाथि दुई करोडभन्दा बढी ठगी गरेको अारोप समेत लागेको छ ।
तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्ने ४० वर्षीय महेश भनिने भुवन धितालविरूद्ध अन्य पनि उजुरी परेको प्रहरीले जनाएको छ । धिताल जयवीर मिडिया प्रालिद्वारा संचालित जलजला खबर डटकमका पत्रकार भएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए।बलात्कार र ठगीको उजुरी परेपछि महेश भनेर चिनिने ४० वर्षीय भुवन भागेर नेपालगञ्जबाट काठमाडौ जान लागेको सूचनाको आधारमा उनलाई बाँके र दाङको सीमाना अमिलिया नजिकैबाट पक्राउ गरिएको हो ।

धितालको साथबाट वा १५ च ७६६८ नं को सेतो फोर्ड गाडी १, भे ८ प ३९५५ नं.को होण्डा स्कुटी एक, ८२ वटा चेक चेकमा उल्लेख गरेको एक करोड उनन्सत्तरी लाख रुपैयाँ, खाली चेक २ थान, विभिन्न व्यक्तिलाई गराएका तमसुक ३२ वटा, तमसुकमा भएको रकम एक करोड चौविस लाख, ढुकुटी खेलाएको रजिष्टर, चारवटा, खाली तमसुक, चारवटा, पत्रकार परिचय पत्र एक थान मोबाइल, २ थान, नगद अठार हजार पाँच सय रुपैयाँ, सुनको औंठी दुईवटा ब्रासलेट एक वटा, र घडी एक थान बरामत गरेको छ। स्रोतका अनुसार धितालले बलात्कार गर्दै पत्रकार हो तिमीहरूको समाचार लेखिदिन्छु भन्दै धम्काउने गरेका थिए ।
प्रकाशित मिति : 20:39









