श्रममन्त्री विष्टको निर्देशनपछि वुटवलको श्रम कार्यालय चाँदबारीबाट रामनगर सर्दै
१४ चैत, रूपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनपछि बुटवलको चाँदबारीस्थित श्रम तथा रोजगार कार्यालय शुक्रबारदेखि बुटवलकै रामनगरमा सर्ने भएको छ । गत फागुन २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निरीक्षण गर्ने क्रममा साँघुरो ठाउँमा भएका कारण सेवाग्राहीलाई समस्या हुने भएकाले पाँच दिनभित्र कार्यालय सार्न निर्देशन दिनुभएको थियो ।

गत पुस १५ गतेदेखि चाँदबारीमा सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय साँघुरो ठाउँमा राखिएको कारण सेवाग्राहीले पटक पटक सेवा लिन असजिलो भएको गुनासो गर्दै आएका थिए । श्रम तथा रोजगार कार्यालय चाँदबारीबाट रामनगरस्थित व्यावसायिक तथा सीप विकास केन्द्रको भवनमा सर्न लागेको कार्यालयले आज सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

कार्यालय सर्ने क्रममा यही चैत १५ गते कार्यालयबाट हुने काम बन्द गरिने सूचनामार्फत जानकारी गराइएको छ । कार्यालयका शाखा अधिकृत बालकृष्ण थापाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार कार्यालय सार्न लागिएको र यही चैत १७ गतेदेखि रामनगरस्थित व्यावसायिक तथा सीप विकास केन्द्रको भवनबाट सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
प्रकाशित मिति : 09:31









