११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

एसईई परीक्षामा मोबाइलबाट चिट चाेर्ने परीक्षार्थी पक्राउ

१३ चैत, काठमाडाैँ । एसईई परीक्षामा परीक्षार्थीले मोबाइलबाट चिट चाेर्ने गरेका छन् । परीक्षार्थीले चिट चोर्न गेस पेपर र कागजको साटो सप्तरीमा मोबाइल प्रयोग गर्न थालेको पाइएको छ।  परीक्षा केन्द्रमा बिहान आठ बजेदेखि सुरु भएको गणित विषयको परीक्षामा बुधबार महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका मधुकुमारी मण्डल, भुपेन्द्रकुमार साह र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ।

उनीहरुले लवन मावि बमनगामा कट्टीबाट परीक्षा फारम भरेका थिए। चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए।

यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका एक परीक्षार्थी पनि बुधबार पक्राउ परेका छन्। तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले पुष्टि गरेको छ।

परीक्षा केन्द्रमा विद्युतीय सामाग्री ल्याउन निषेध गरिए पनि जुत्ता र संवेदनशील अंगमा मोबाइल लुकाएर ल्याइ चिट चोर्न प्रयोग गरेको पाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका वीरेन्द्र चौधरीले बताए।

जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका दुईजना विद्यार्थीले पनि मोबाइल प्रयोग गरेको फेला परेपछि उनीहरुलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। चिट चोर्नका लागि गेसपेपर र कागजपत्र लैजान र लेख्न झन्झटिलो हुने र पक्राउ पर्ने सम्भावना पनि बढी भएकाले मोबाइल प्रयोग हुन थालेको विद्यार्थीहरु बताउँछन्।

मोबाइल प्रयोग गरी वाट्सअप, भाइबर र फेसबुक चाट म्यासेञ्जरको माध्यमबाट प्रश्नपत्रको तस्बिर खिचेर बाहिर पठाउने र सोही माध्यमबाट उत्तरहरु आएपछि उत्तर पुस्तिकामा उतार्ने गर्छन्।

 

प्रकाशित मिति : March 27, 2019 at 4:28 pm