७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

अब नेपाली युवा विदेश पठाउने होइन: मन्त्री अर्याल

१२ चैत, स्याङ्जा  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाल विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताउनुभएको छ । आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको आज (मंगलबार) उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब ती योजनाहरूलाई उत्पादनमा जोड्दै आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभयो। भएका सम्भावनाहरूलाई योजनावद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्ने बताउनुभयो । अब नेपाल श्रमशक्ति निर्यात नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्ने मुलुकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ। तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन। विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ। नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडी बढेका छ’, मन्त्री अर्यालले भन्नुभयो ।

नेपाललाई स्वीजरल्याण्ड बनाउछौ भनेर भाषण गरेर मात्र नहुने भन्दै उहाँले योजनावद्ध रूपमा विकासका कामहरू अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावनाहरू छन्। अब योजना बनाएर अगाडी बढ्नुपर्छ।’

कृषिप्रधान देशका जनता अब पनि भोकभोकै मर्ने अवस्था रहिरहन दिन नहुने भन्दै मन्त्री अर्यालले त्यसका निम्ती योजनावद्ध विकासका कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो । ‘भन्दाखेरि कृषिप्रधान मुलुक । तर जनताले खान नपाएर भ्याकुर खानुपर्ने, कन्दमूल खोज्नुपर्ने अनि कृषिप्रधान मुलुकका हामी नागरिक भनेर भन्नुपर्ने’, मन्त्री अर्यालले भन्नुभयो, ‘संसारको दोस्रो जलस्रोतको धनी मुलुक तर जनता पानी खान नपाएर काकाकुल हुनुपर्ने।’

उपलब्ध कृषियोग्य जमिनको सदुपयोग गरेर मुलुकभित्रै रोजगारी सिर्जना गर्ने कार्यमा हरेक नागरिक लाग्नुपर्ने उहाँको भनाइ थियो । विगतमा पनि गाउँठाउँको विकासको शुरूआत कम्युनिष्ट सरकारले नै कोरेको भन्दै मन्त्री अर्यालले अब समृद्धिको खाका कसरी कोर्न सकिन्छ, मुलुकको समृद्धी कसरी गर्ने भनेर यो पाँच वर्षमा गरेर देखाउने दाबी गर्नुभयो । भर्खरै एक वर्ष बितेको भन्दै उहाँले पाँच वर्षको बिचमा यो सरकारले वास्तविक रूपमा विकास गरेर देखाउने बताउनुभयो ।

यसैबीच आँधीखोला गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने भैरबकुण्ड मोटरेवल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले सरकारले हरेक घरमा एकजना भएपनि मान्छे रोजगार होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको बताउनुभयो । उहाँले कसलाई कसरी कहाँ जागिर खुवाउन सकिन्छ भनेर सरकारले खोजी गरिरहेको समेत बताउनुभयो ।

अर्को प्रसङ्गमा मन्त्री अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत २६ जिल्लामा गरिब पहिचान भइसकेको र ५१ जिल्लामा गरिब पहिचान कार्यक्रम सञ्चालन गर्न ४ हजार मान्छे आवश्यक भएको बताउनुभयो । ‘५१ जिल्लामा गरिब पहिचान गर्न प्रत्येक वडामा एकजना गणक र १० जना गणक बराबर १ जना सुपरभाइजर हुनेगरी चार हजार मान्छे आवश्यक पर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘आगामी असारभित्रमा बाँकी ५१ जिल्लामा पनि गरिब पहिचान कार्य गर्नेगरी हामीले तयारी गरिरहेका छौ ।’

गरिब पहिचान गरेर गरिब लक्षित गर्ने योजनाका साथ आफु अगाडी बढेको मन्त्री अर्यालले बताउनुभयो । लामो योगदान र बलिदानी गरेर यो सरकार यहाँसम्म आएको भन्दै यो सरकार तत्काल गर्ने काम तत्काल र दीर्घकालिन लक्ष्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।

स्याङ्जाकै आँधीखोला गाउँपालिका ५ रंगेठाटीस्थित प्रद्युम्‍न मावीको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको विकासका निम्ती प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । मुलुकको सम्भावनाहरूको एकिकृत विकासका निम्ती पनि प्राविधिक जनशक्तिको आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले त्यसका निम्ती सरकारले पनि प्राविधिक शिक्षामा जोड दिएको उहाँको भनाइ थियो ।

मन्त्री अर्यालले सरकारले यो पाँच वर्षमा काम गरेर देखाउने भन्दै ढुक्क रहन जनताहरूलाई आग्रह गर्नुभयो । ‘सरकारले काम गरिरहेको छ। तपाइहरू ढुक्क हुनुस् । यहाँका स्थानीय सरकार, प्रदेश सरकार पनि छ । उहाँहरूसँग पनि समन्वय गर्नुस् । केन्द्रले गर्ने काम केन्द्रले पनि गर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर यो सरकारले काम गर्छ तपाइहरू ढुक्क हुनुस् । संघीय सरकारका तर्फबाट गर्ने काममा कुनै कमी रहदैन, मेरो महत्वपुर्ण योगदान रहन्छ ।’

निर्वाचनमा जाँदा घोषणापत्रमा बृद्धभत्ता ५ हजार बढाउने भनेको प्रतिवद्धता पाँच वर्षभित्र पुरा गर्ने मन्त्री अर्यालले बताउनुभयो । विगतमा पनि कम्युनिष्ट सरकारले विकासको शुरूआत गरेको र अहिले पनि समृद्धिको काम यही सरकारले गर्ने मन्त्री अर्यालले विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘विगतलाई हेर्नुस् र आजलाई हेर्नुस् । हिजो विकासको शुरूवात पनि हामीले गर्‍यौं । समृद्धिको शुरूआत पनि हामीले शुरू गर्‍यौं । यो सबै जनताको सपना साकार पारेरै छाड्छौ । ढुक्क हुनुस्’, मन्त्री अर्यालले भन्नुभयो ।

प्रकाशित मिति : 18:27