७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड दियो, केही सातामै मलेसियाको रोजगारी खुल्ने

१०  चैत, काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारीमा लागेको सिण्डिकेटको अन्त्य गराएका छन । सिण्डिकेटको अन्त्य पछि मलेसिया र नेपालका बीचमा शून्य लागतमा कामदार पठाउने विषयमा श्रम समझदारी भएको थियो । तर पनि विभिन्न चलखेलका कारण मलेसियाका तर्फबाट रोजगारी खुलाउन ढिलाइ भएको थियो । अब मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै सिण्डिकेटधारीको सम्पूर्ण चलखेल समाप्त भएको छ भने लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

मन्त्रालय स्रोतका अनुसार श्रम समझदारीमा भएको व्यवस्थाअनुसार नै मलेसियाले शुक्रबार स्वास्थ्य परीक्षणको मापदण्ड बनाएर नेपाललाई पठाएको हो । स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाका कुनै पनि काममा नेपाली कामदारले पैसा तिर्नु नपर्ने सम्झौता यसअघि नै भइसकेको छ । अब मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण हुने मन्त्रालय स्रोतले जनाएको छ ।

फाइल तस्बीर । श्रम समझदारीमा हस्ताक्षर नेपाल र मलेसियाका श्रममन्त्री ।

मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर चाँडै नै सूचीकृत हुन आह्वान गर्ने जनाएको छ । मन्त्रालयका अनुसार श्रम स्वीकृतिको काम सुरू भएको सबै प्रदेशबाट स्वास्थ्य परीक्षणको काम पनि हुनेछ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई श्रममन्त्री विष्टले  कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो।

प्रकाशित मिति : 15:54