४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सभापति देउवाले कांग्रेस हैन गिरोह चलाएः नेता कोइराला

१० चैत, चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन । नेपाली काङ्ग्रेस चितवनले अाइतबार चितवनमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” उनले पार्टी सभापति शेरबहादुर देउवातर्फ इंकित गर्दै देउवाले पार्टी चलाउनु पर्नेमा गिरोह चलाइरहेको बताउँदै त्यो कांग्रेसका लागि खतरनाक हुने बताए ।

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँने बताए । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताइन ।

प्रकाशित मिति : March 24, 2019 at 12:35 pm