१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

संस्कृतिको विकास विना मुलुक समृद्ध बन्दैनः सत्यमोहन

१० चैत, काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना समृद्ध नेपाल बन्न नसक्ने बताएका छन । शनिबार काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै जोशीले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने बताए । उनले कार्यक्रमबाटै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

‘मुलुक गरीब भए पनि हाम्रा पुर्खाले सुनैसुनको मन्दिर, झ्याल, ढोका, धारालगायत सम्पदा बनाएका थिए, तिनको संरक्षण सम्म हामीले गर्न सकेका छैनौँ,’ उनले भने, ‘पाटनमा रहेको सुनको चरा, सर्पलगायत सांस्कृतिक सम्पदामा ठूलो दर्शन भए पनि त्यसको अध्ययन अनुसन्धानमा नयाँ पुस्ताको ध्यान जान सकेको छैन ।’

सुनका ऐतिहासिक सम्पदा बनाउन ३२ कोठी महाजन अर्थात व्यापारीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले वार्षिक ४० लाख युवा रोजगारीका लागि विदेशिने गरेकाले कला संस्कृतिको संरक्षण गरी रोजगारी सिर्जना गर्न प्रदेशसभाले प्राविधिक शिक्षा ऐन पारित गरेको बताए ।

व्यक्तिविशेषको चाकडी नगरी विधिअनुसार सबै नागरिकले रोजगारी पाउने गरी प्रदेशसभाले ९९ ऐन पारित गरेको उनले बताए । सुनचाँदी रत्न आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य, आयोजक संघका अध्यक्ष महेन्दरत्न शाक्य, सदस्य देव बज्राचार्य लगायतले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन आह्वान गरे । उनीहरुले सरकारले ऐन नियम चाँडो निर्माण गरेर यो व्यवसायलाई बदनाम हुन नदिन आग्रह गरे ।

प्रकाशित मिति : March 24, 2019 at 7:33 am