जनताको जलविद्युत माथिल्लो त्रिशूली थ्री ‘बी’ कार्यक्रम भोलिदेखि सुरू, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै
६ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) खुला हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार आवेदन दिने भएका छन्।
आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्न आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलिसकेका छन् । फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।

त्रिशुली जलविद्युत् कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिने साे कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।
कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कति दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । अगि्रम रुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।
कूल बिक्री हुने सेयरमध्ये एक लाख ११ हजार १५० कित्ता सेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । सेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिसेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अगि्रम भुक्तानीका लागि आग्रह गरिएको छ ।
उक्त सेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।
नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।
सेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ । सो कम्पनीको साधारण सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ ।
बोर्डले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनाको सेयर बिक्रीका लागि ‘रेटिङ’ गराउनु नपर्ने व्यवस्था गरेको छ । सरकारको तयारी अनुसार कूल स्वपूँजीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ ।
सरकारले उक्त कार्यक्रमअन्तर्गतका आयोजनामा लगानी गर्ने सेयरधनीलाई व्याजवापतको रकम समेत उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निश्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरल समेत बनाएको छ ।
उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाले समेत लगानी गरेका छन् । स्थानीय आयोजना प्रभावित र नुवाकोट तथा रसुवाका स्थानीय निकायले समेत लगानी गर्ने भएका छन् ।
यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सो आयोजनामा ऋण लगानी गरेका छन् । कम्पनी र प्राधिकरणबीच २०७४ भदौ ६ गते विद्युत् खरीद सम्झौता भएको थियो । आयोजनाले २०७८ फागुन १७ गतेदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए ।
प्रकाशित मिति : 13:50









