७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

मर्यादाक्रममा संघीय संसदका सांसद पूर्व मन्त्रीभन्दा माथि : गृहमन्त्री थापा

५ चैत, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने स्पष्ट पार्नु भएको छ ।गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गरे । उनले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने बताए ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दै गृहमन्त्री थापालाई यस सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथि नै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादाक्रम माथि नै रहने बताए । उनले नयाँ मर्यादाक्रम मन्त्रीपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए ।

गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताए । बैठकमा समितिका सदस्य प्रेम सुवाल लगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : 18:45