१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

सामाजिक सुरक्षा कार्यक्रम एउटै छानामुनिः युवराज खतिवडा

४ चैत, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताएका छन् । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ आँै वार्षिक कार्यक्रममा उहाँले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न सङ्घसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताउनुभयो ।

‘‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृतरूपमा सञ्चालन गरिने छ’’ उहाँले भन्नुभयो, ‘‘समाजिक सुरक्षामा काम गर्ने संस्थालाई पाँच वर्षभित्र संस्थागत पुनःसंरचना गरेर एकीकृत गरिने छ ।’’

मन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रममा नागरिक लगानी कोष अभिन्न अङ्ग भएकाले सरकारसँग सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । कोषलाई वित्तीय बजारमा बलियो आधार बनाउनुपर्ने उल्लेख गर्दै कोषलाई बढी स्वायत्त र स्पष्ट बनाउन नयाँ कानून बनाइरहेको जानकारी गराउनुभयो ।

स्वपूँजी बजार र धितोपत्रबाट पूँजी उठाउन चाहनेलाई कोषले सहयोग गर्नुपर्ने उहाँको भनाइ रहेको थियो । पूँजी बजारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्था कोष भएकोले मुद्राबजारमा धेरै नखेल्न आग्रहसमेत उहाँले गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाको निरीक्षण सुपरिवेक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कोषका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले कोषले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधार जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले असङ्गठित क्षेत्रका स्वतन्त्र मजदूर, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आबद्घ गराउन अध्ययन भइरहेको बताउनुभयो । कोषले अहिले ११ कार्यक्रमबाट चार हजार ८०० बढी कार्यालयका छ लाख ३१ हजार ९१९ सेवाग्राहीलाई समेटेको छ ।

कोषले आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्ममा रु एक खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेको छ भने रु एक खर्ब १३ अर्ब ८४ करोड लगानी प्रवाह भएको छ । छ रोपनीमा आगामी चार वर्षभित्र ९ तले कोषको भवन करीब रु ६९ करोडमा बन्ने छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी हरिचन्द्र श्रेष्ठ, राजु भुर्तेल र जानुका भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : March 18, 2019 at 4:46 pm