३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

काठमाडौँकाे तारकेश्वरका २ पोल्टीफर्ममा बर्डफ्लु भेटियो, २८ हजार कुखुरा नष्ट गरिए

–जमुना धमला

३ चैत, काठमाडौँ । काठमाडौँको तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा.जयप्रकाश राय यादवले जानकारी दिए ।

उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।

प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएको छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : 19:06