३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका प्रस्थान

चैत ३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । दाहाल पत्नी सीता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित छिन् ।

अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सीताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ पत्नी सीताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले यस अघि सो रोगको उपचारका लागि पत्नी सीतालाई आफूले सिंगापुर पुर्याएको र केही समय त्यसले सहज बनाएको पनि स्मरण गराए ।

दाहाल पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धी रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परीक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताए ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् । एक हप्ता भन्दा बढि उपचारको समय लागे पत्नी सीतालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।

प्रकाशित मिति : 18:13