१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैनः अध्यक्ष प्रचण्ड

३० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिनुभयो । पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उहाँले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भन्नुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भन्नुभयो, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उहाँले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताउनुभयो । उहाँले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गर्नुभयो । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : March 14, 2019 at 3:28 pm