१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य: सभापति देउवा

२९ फागुन, विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको धारणा व्यक्त गर्नुभयो ।

नेपाल एयरलाइन्सले खरीद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : March 13, 2019 at 2:58 pm