३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

पाँचखालमा एक हजार ७९ घर निर्माण

२९ फागुन, बनेपा । आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी आर्थिक अभावका कारण भूकम्पले क्षति पुगेका घर पुनःनिर्माण गर्न नसकेकाका लागि घर निर्माण गर्न सहयोग गरेको संस्थाका जिल्ला कार्यक्रम अधिकृत सिमराज दनुवारले बताउनुभयो ।

“हामीले सरकारले तोकेअनुसारको भूकम्प प्रभावितका लागि घर निर्माण गर्न नसकेकालाई घर निर्माण गर्नुका साथै अवस्था र आवश्यकताअनुसार नगद रु ५० हजार, सोही बराबरको थप सामग्री र सोही बराबरको मिस्त्री उपलब्ध गरी घर निर्माण गर्न सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

सो संस्थाले परियोजना कार्यान्वयन गर्नका लागि आर्किटेक्चर्स सान्स फ्रन्टियर्स नेपाल (एएसएफ नेपाल) लाई उपलब्ध गराएको रु १२ करोड तीन लाख २९ हजार बजेटमध्ये रु ११ करोड ५९ लाख ४८ हजारमा सो घर निर्माण गरी सम्पन्न गरेको जनाएको छ ।

नेपाल पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत परियोजना क्षेत्रभित्रका भूकम्पबाट प्रभावित घरधुरीको पुनःनिर्माण तथा पुनःस्थापना गर्नका लागि सहायता पु¥याउने उद्देश्यले सो कार्य सम्पन्न गरेको उहाँको भनाइ छ । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले आफ्नो वडामा भूकम्पले ध्वस्त बनाएका दनुवार बस्तीमा ८७ घर निर्माण गरी सहयोग गरेको बताउनुभयो ।

विपन्न दुनवार बस्तीमा राज्यले उपलब्ध गराएको रु तीन लाखबाट मात्रै सो बस्तीमा घर निर्माण गर्न नसक्ने अवस्था रहेकामा पुनःनिर्माणको काममा सो संस्थाले ठूलो सहयोग पु¥याएको उहाँले बताउनुभयो । सो नगरपालिका वडा नं १२ का वडाध्यक्ष गोपालबहादुर दनुवारले संस्थाको सहयोगमा वडाभित्र भूकम्प लाभग्राहीको घर निर्माणमा विदेशीबाट सहयोग गरिरहेको बताउनुभयो ।

घर निर्माण गर्न बाँकी रहेकाका लागि जग हाल्ने डिपिसीदेखि गाह्रो लगाउनेलगायतका काममा स्वयंसेवी खटिएका छन् । वडा नं १२ बालुवाका कान्छा दनुवारले रकम अभाव र काम गर्ने मान्छे नभएका कारण घर निर्माण गर्न ढिलाइ भइरहेको अवस्थामा विदेशी स्वयंसेवी आएर घर निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

प्रकाशित मिति : 11:04