३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

धुर्मुस–सुन्तलीद्वारा स्थानीयवासीलाई रङ्गशाला निर्माणस्थलमा सहयोग गर्न आग्रह

२९ फागुन, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो ।

सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिनेमा विश्वास दिलाउँदै नेपालकै महत्वपूर्ण सम्पत्तिका रुपमा रङ्गशाला हुने उहाँहरुको भनाइ थियो ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै उहाँहरुले सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने बताउनुभयो । कार्यक्रममा क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारी, वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरुङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तिलचन्द्र भट्टराईलगायतले रङ्गशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

सो अवसरमा सहभागीले रङ्गशाला निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । फाउण्डेशनले हालसम्म रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ । सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ । रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरु गरिसकेका छन् ।

प्रकाशित मिति : 10:16