१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

व्यावहारिक शिक्षा प्रदान गर्नुपर्छः अध्यक्ष विजुक्छे

२४ फागुन, भक्तपुर ।  नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले समाजलाई अगाडि बढाउन नयाँ पुस्तालाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप इञ्जिनीयरिङ कलेजको संयुक्त आयोजना गरिएको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक महिला कार्यकर्ताले अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृत्वको जीवनी अध्ययन गर्नुपर्नेमा जोड दिँदै शिक्षिक–शिक्षिका नेपाली भाषा र मातृ भाषामा दख्खल हुनुपर्ने बताउनुभयो । महिलाले राजनीतिक साहित्यको अध्ययनमा जोड दिँदा समाजलाई बुझ्न सजिलो हुने विजुक्छेको भनाइ थियो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनजिओ÷आइएनजिओले औपचारिकताको नाममा मात्र महिला दिवस मनाइरहेको बताउँदै धनी महिलाको निम्ति अवसर, स्वतन्त्रता र सबै खालको सुविधा भएको तर गरीब कामदार महिला सधैँ पीडित भएको बताउनुभयो । त्यस अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई अगाडि बढाउन शैक्षिक संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै शिक्षित र योग्य महिला समाजप्रति उत्तरदायी हुनुपर्ने, सभ्य र सुसंस्कृत समाज स्थापना गर्न सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवाल, ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले महिलालाई सबै विषयमा अगाडि बढाउन महिला नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : March 8, 2019 at 7:20 pm