कम्युनिष्ट नेता गणेश पण्डितको सम्झना गर्दै नुवाकोट
–नवदीप श्रेष्ठ
२४ फागुन, नुवाकोट । नुवाकोटको कम्युनिष्ट आन्दोलन र शैक्षिक आन्दोलनको कुरा आउन गणेश पण्डितको नाम पहिलो पङ्क्तिमा आउँछ । यिनै नेता गणेश पण्डितको फागुन २१ गते हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएपछि जिल्लाका राजनीतिक, सामाजिक तथा शैक्षिक वृत्तले स्मरण गरिरहेको छ ।
विसं २००३ मा शिखरबेंसीमा जन्मनुभएका पण्डितको सामाजिक तथा राजनीतिक यात्रा आफ्नो घरबाट नै तमसुक च्यातेर विद्रोह गरेपछि शुरु भएको जानकार बताउँछन् । आफ्ना पिताले गाउँमा गरीबलाई ऋण दिएको तमसुक च्यातेर राजनीतिक तथा सामाजिक अभियन्ता भएर हिँडेका पण्डितको नुवाकोटको वाम राजनीति र शैक्षिक अभियानमा अतुलनीय योगदान छ । जिल्लाका पूर्वी क्षेत्रको शैक्षिक विकासमा पण्डितको योगदान अतुलनीय रहेको अमरज्योति माविका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले बताउनुभयो ।

पण्डितले अमरज्योति माविलाई माध्यामिक तह बनाउन, सातबिसेको सुन्दरा माविको स्थापना गराउन र रामतीको दुप्चेश्वर मावि स्थापना गराउन भूमिका खेल्नुभएको थियो । उहाँले अमरज्योति माविलाई मावि तह मात्र बनाउनुभएन १० वर्ष प्रधानाध्यापक भएर अध्यापनसमेत गर्नुभएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । पण्डितले २०३२ देखि २०४२ सालसम्म पढाउनुभएको थियो । “अहिले यस क्षेत्रका शिक्षक अधिकांश पण्डित सरकै शैक्षिक योगदानका उपज हुन्”, प्रधानाध्यापक अधिकारीले भन्नुभयो ।
शिक्षणसँगै वामपन्थी राजनीतिमा सक्रिय पण्डितले दिनभरि विद्यालयमा पठनपाठन गराउने र राति राजनीतिक प्रशिक्षण दिँदै सङ्गठन विस्तार गर्नुभएको पण्डितसँगै १० वर्ष अध्यापन गर्नुभएका खरानीटारका लोकबहादुर श्रेष्ठले बताउनुभयो । “पञ्चायतका मान्छे दिउँसो स्कूलमा आउँथे । पण्डित सरलाई स्कूलमै देख्थे । हामी राति नै विभिन्न गाउँमा पुग्थ्यौँ”, श्रेष्ठले भन्नुभयो, “पण्डित सरको नेतृत्वमा हामीले राति राति गएर यो भेगका सबै गाउँमा सङ्गठन विस्तार गरिसकेका थियौँ ।”
पञ्चायतकालमा पनि रामती, समुद्रटार, थप्रेक, कुमरी, दुईपिपललगायत क्षेत्रका पण्डित सरकै अगुवाइ पार्टीको सङ्गठन विस्तार भएको सहकर्मी श्रेष्ठले बताउनुभयो । जिल्लामा कम्युनिष्ट पार्टीको जग बसाल्न र त्यसलाई फलाउन, फुलाउन पण्डित सरको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला उपाध्यक्षसमेत भएका पण्डित २०४२ सालको बमकाण्डमा पक्राउ पर्नुभएपछि उहाँ शैक्षिक क्षेत्रमा फर्किनुभएन ।
बमकाण्डमा १४ महिना जेल परेर फर्किए पछि उहाँ पूर्णकालीन राजनीतिमा प्रवेश गर्दै २०४३ सालमा जनपक्षीय उम्मेदवार भएर निर्वाचनमा होमिनुभयो । उक्त निर्वाचनमा पराजित भए पनि पण्डित राजनीतिक सङ्गठन विस्तारमा सक्रिय हुनुभयो ।नेकपा(चौम)मा आबद्ध पण्डित २०४७ सालमा पार्टी एकीकरणपछि नेकपा एमालेमा प्रवेश गर्नुभयो । विसं २०४८ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट विजयी पण्डित २०४९ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट सचिव हुनुभयो ।
पण्डित २०५० सालमा पार्टीको अनुमतिविना अमेरिका गएको आरोपमा कारवाहीमा पर्नुभएपछि राजनीतिक सक्रियबाट बाहिरिनुभएको उक्त कमिटीमा उपसचिव भएर काम गर्नुभएका रामशरण प्याकुरेल बताउनुहुन्छ । “पार्टीले कारवाही गरेपनि उहाँले गल्ती स्विकार्नुभएन । मेरो के गल्ती छ र भन्नुहुन्थ्यो”, प्याकुरेलले भन्नुभयो, “हामीले नुवाकोटको अवस्था हेरेर कारवाहीमा केही नरम हुन केन्द्रलाई अनुरोध ग¥यौँ ।”
पार्टीले कारवाही गरेपछि कार्यकर्ता माउविनाको चल्ला जस्तो भएको पण्डितका सहकर्मी लोकबहादुर श्रेष्ठ बताउनुहुन्छ । ‘कार्यकर्ताहरु छरिए । पण्डित सर कारवाहीमा परेपछि पार्टीमा सक्रिय हुनु भएन”, श्रेष्ठले भन्नुभयो । पण्डित २०५६ सालमा नेकपा मालेबाट निर्वाचनमा उम्मेदवार हुनुभयो । उहाँ पराजित हुनुभयो । विसं २०६४ पछि भने उहाँ तत्कालीन नेकपा (माओवादी)मा आबद्ध हुनुभयो ।
लामो समय शिक्षण पेशामा रहँदै जनताको जीविकाको सवाल उठाउँदै अघि बढेका कारण आजसम्म ‘गणेश सर’को नामले जिल्लावासीले स्मरण गरिरहेका सांसद नारायणप्रसाद खतिवडाले बताउनुभयो । पण्डितको निधनबाट बाम तथा लोकतान्त्रिक आन्दोलनमा ठूलो रिक्तता महसुस भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद हितबहादुर तामाङ बताउनुहुन्छ ।
प्रकाशित मिति : March 8, 2019 at 8:48 am









