भारतले नुवाकोट र धादिङसहित नेपालका ७ जिल्लामा ७२ वटा शैक्षिक संरचना पुनर्निर्माण गर्ने
२२ फागुन, काठमाडाैँ । भारतले नेपालमा २ पुस्तकालय र ७० वटा विद्यालय सहित ७२ वटा शैक्षिक संरचना पुनर्निर्माण गर्ने भएको छ ।विद्यालय भवन र पुस्तकालय पुनर्निर्माणबारे अलग अलग समझदारीपत्रमा हस्ताक्षर भएको छ । भूकम्प प्रभावित ७ जिल्लाका ७० वटा विद्यालय र काठमाडाैँ उपत्यकाका २ पुस्तकालयका लागि परामर्श सेवासम्बन्धी समझदारी भएको हो ।
भारत सरकारको अनुदान सहयोगबाट पुनर्निर्माण हुने तय भएका विद्यालयको निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । भूकम्पबाट क्षतिग्रस्त ७२ शैक्षिक संरचनाको पुनर्निर्माणमा प्राविधिक सहयोग पुर्याउन भारतले सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट सिबिआरआई परिचालन गर्ने भएको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उपप्रमुख डाक्टर अजय कुमार र सिबिआरआईका तर्फबाट टिमलिडर डाक्टर पूर्णिमा परिदाले हस्ताक्षर गरे ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाका आयोजना निर्देशक इमनारायण श्रेष्ठ र भारतीय राजदूतावासको पुनर्निर्माण प्रभागकी प्रमुख सुचिता किशोरले गोरखा र नुवाकोटका ८ विद्यालयको परियोजना विशेष सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
भारतीय सहयोगमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, नुवाकोट र धादिङका ७० वटा माध्यमिक विद्यालयको पुनर्निर्माण हुनेछ । त्यस्तै, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय तथा पुल्चोकको राष्ट्रिय पुस्तकालयको भवन बन्नेछ ।
प्रकाशित मिति : March 6, 2019 at 7:07 pm







