अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न त्रिविको अल्टिमेटम
११ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न अनधिकृत रूपमा भोगचलन गर्दै आएका संघसंस्था तथा व्यक्तिहरूलाई सात दिनको अन्तिम समयसीमा दिएको छ । यसअघि जारी गरिएको ३५ दिने सार्वजनिक सूचनालाई अटेर गरेपछि त्रिविले पुनः ताकेता गर्दै पत्राचार गरेको हो ।

त्रिवि रजिस्ट्रारको कार्यालयका अनुसार तोकिएको सात दिनको समयसीमा आगामी सोमबारदेखि गणना हुनेछ । त्रिवि सामान्य प्रशासन महाशाखाले विश्वविद्यालयको मूल गेटअगाडि सञ्चालित पेट्रोल पम्प, बागबानी, नर्सरी तथा राधास्वामी सत्संग केन्द्रलाई तत्काल जग्गा खाली गर्न सातदिने पत्र बुझाइसकेको छ ।
प्रकाशित मिति : November 27, 2026 at 2:45 pm












