जनताका कुरा सुन्न ऊर्जामन्त्री श्रेष्ठ गण्डकी प्रदेशको भ्रमणमा
११ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ सिँचाइ र ऊर्जा क्षेत्रको अवस्था, बाढी–पहिरोको क्षति, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमनमा निस्किएका छन् ।
नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठ भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायतका जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम छ ।
यसैगरी, कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको समेत निरीक्षण तथा समीक्षा गर्ने कार्यक्रम तय गरिएको छ ।
विपद्बाट प्रभावित नागरिकको वास्तविक समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले यो अनुगमन गर्न लागिएको हो । स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल सम्बोधन गर्नुपर्ने समस्या र दीर्घकालीन समाधानका उपाय पहिचान गरिने जनाइएको छ ।
प्रकाशित मिति : November 27, 2026 at 12:12 pm















