नेपाल पुनर्बीमा कम्पनीले बोलायो वार्षिक साधारण सभा
११ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पुस ६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा संस्थागत लगानीकर्ताबाट दुई जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव रहेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि के. जे. एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि छ ।
कम्पनीले आफ्नो अधिकृत पुँजी २० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । यसैगरी, कम्पनीको जारी तथा चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियामक निकाय वा नेपाल सरकारबाट सुझाव आएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते बुकक्लाेज गर्ने भएको छ । यसकाे अर्थ मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन् ।
प्रकाशित मिति : November 27, 2026 at 12:09 pm















