नेपाल र भारतबिचको सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छः बालेन
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् ।
आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् ।
उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रिओस् ।’
नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने भन्दै उनले सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको धारणा राखे । उनले दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए ।
यस्ताे छ शाहको सम्बोधनको पूर्णपाठ :
भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद, नेपाली जनताको प्रेम स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको छु । हार्दिक निमन्त्रणा, न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार प्रकट गर्दछु ।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय यस सम्बन्धको केन्द्र हाम्रो दुई देशका जनता रहेका छन् । नेपाल र भारत बीचको सम्बन्ध हिमाल झैँ अटल, महासागर झैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो जसलाई शब्दको सीमिततामा बाँध्न सकिन्न ।
एक विश्वासनीय छिमेकीका रूपमा नेपालमा प्राकृतिक प्रकोप र विपद्का कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको छ । म भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्दछु ।
भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वर्ता सम्पन्न भएको छ । शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउने उद्देश्यसहित हामीले दुई पक्षीय सम्बन्धका बहुआयामिक पक्षबाट सार्थक र दूरगामी छलफल गरेका छौँ । यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण साझेदरी तथा परियोजनाको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन् ।
हामीले आज गरेका समझदारीहरू र अघि बढाइएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ । यी ऐतिहासिक उपलब्धिहरूले हाम्रो दुई मुलुकको समृद्ध भविष्यका लिग मिलेर काम गर्न हामीले जोइन्ट भिजन डकुमेन्ट एवं हाम्रा साझा उपलब्धिहरूको संयुक्त प्रेस रिलिजमार्फत जानकारी गराइने छ ।
यस महत्त्वपूर्ण अवसरमा महामहिम नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु । साथै मित्रराष्ट्र भारतका आत्मीय जनता हिमालयको काखमा अवस्थित मुक्तिनाथ भगवान् श्री पशुपतिनाथ, [तराइको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।
नेपाल र भारत बीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदी झैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रियोस् । हामी सबैको जय होस ।
प्रकाशित मिति : November 23, 2026 at 3:18 pm













