सरकारी निवासमै प्रहरी निरीक्षक मृत फेला
२ मंसिर, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी सरकारी निवासमै मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान आफ्नै सरकारी निवासमा अचेत अवस्थामा फेला परेका हुन्।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।
बिहान साढे ९ बजेसम्म पनि केसी निवासबाट बाहिर ननिस्किएपछि प्रहरीले उनको अवस्था बुझ्न क्वार्टरमा पुगेको थियो। निवासको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो। लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट भित्र प्रवेश गरी केसीलाई बाहिर निकालेको थियो।
अचेत अवस्थामा भेटिएका केसीलाई तत्काल अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सरकारी सुरक्षा निकायको आवासीय क्वार्टरमै कार्यरत प्रहरी अधिकृत मृत फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको कारण तत्काल खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।
प्रकाशित मिति : November 18, 2026 at 8:25 am













