वित्तीय अपराध अनुसन्धानमा प्रविधि र वैज्ञानिक पद्धति अपनाउन आईजीपी केसीको जोड
१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन्।
वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानका लागि सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायकलगायत सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचना सहज, समयमै र प्रभावकारी रूपमा आदानप्रदान हुने प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।
कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ।
कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सोही अवसरमा प्रहरी महानिरीक्षक डा. केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गरे।
प्रकाशित मिति : November 17, 2026 at 2:36 pm










