काठमाडौँ भिमसेनस्थानमा माताले बोक्सी भन्दै महिलालाई ताताेपन्युले डामेपछि…
२० फागुन, काठमाडौं । काठमाडाैँकाे भिमसेनस्थानमा झारफुक गरेर बस्ने माताले एक महिलालार्इ बाेक्सी भन्दै पन्यु तताएर डामेकी छन् । रश्मी उपरकोटीलार्इ याे त ‘बोक्सी रहिछ’ भन्दै कूचोले हिर्काउँदै पन्यु तताएर डामेको भन्दै उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन् ।
उपरकोटीले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले भिमसेनस्थानमा डेरा लिएर ‘माता हुँ’ भन्दै झारफुक गर्ने र ‘बच्चा बिरामी पारेको भन्दै बाेक्सीकाे अाराेपमा पन्यु तताएर उपरकोटीलार्इ डाम्ने कविता श्रेष्ठलाई पक्राउ गरेको प्रमुख (एसएसपी) वसन्त लामाले बताएका छन् ।

फागुन १५ गते भिमसेनस्थानस्थित आश्रमबाट पक्राउ परेकी कविता अहिले टेकुस्थित काठमाडौं प्रहरीको हिरासतमा छिन् । काठमाडौं महानगरपालिका–५ माईतीघर भएकी ४३ वर्षीया कविताले मोरङ्गमा विवाह गरेकी र भिमसेनस्थानमा छोरीको साथमा बस्दै आएकी थिइन् ।
प्रहरीसँगको प्रारम्भिक बयानको क्रममा कविता श्रेष्ठ (माता)ले बाटेको धुप सल्काएर धुपौरामा राखेको अवस्थामा रश्मीले झम्टेपछि आफुलाई देउताले छोपेको र सोही अवस्थामा कुटपिट गरेको बताएकी छिन् ।
बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजाय ऐन–२०७२ अनुसार कसुर गर्ने ब्यक्तिलाई ६ महिनादेखि २ बर्षसम्म कैद र पाँच हजारदेखि २० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । कानुनले कसैलाई बोक्सीको आरोप लगाउने र उक्त आरोप लगाएर गाली गर्ने तथा यातना दिने कार्यलाई बन्देज लगाएको छ ।
प्रकाशित मिति : March 4, 2019 at 7:28 pm









