७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

त्रिशुली बाढीको पीडा बोल्ने केपी खतिवडाको शब्दमा थानेश्वर गौतमको स्वर ‘आँखामा बसेको मान्छे’

https://www.muktinathbank.com.np/online/loan-application

१६ कात्तिक, काठमाडौं । भदौ १० गतेको विनाशकारी भोटेकोशी अर्थात् त्रिशूली बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरू अब गीत बनेर गुञ्जिन थालेका छन् । बाढीपछि पीडितहरूको दुःख नजिकबाट देखेका केदार खतिवडाले त्यही पीडालाई शब्दमा उतारेका छन् । उनको शब्दमा तयार भएको ‘आँखामा बसेको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा थानेश्वर गौतमले स्वर दिएका छन्।

बाढीले कसैको प्रियजन खोस्यो, कसैको घरबार उजाड्यो त कसैको जीवनभर सँगै रहने सपना एकैछिनमा बगायो । आँखैअगाडि आफ्ना मान्छे र सपनाहरू गुमाउनुपर्दाको पीडा कति असह्य हुन्छ भन्ने अनुभूति बोकेको यो गीतले प्राकृतिक विपत्तिले मानिसको मनमा छाडेको गहिरो घाउलाई प्रेम र बिछोडका विम्बमार्फत व्यक्त गरेको छ ।

गीतकार खतिवडा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी स्वयं बाढीबाट प्रभावित बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् । बाढीपछि उद्धार तथा राहतका काममा खटिएका उनले विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट देखे, सुने र महसुस गरे । त्यही अनुभूति उनका शब्दमा पोखिएको छ ।

गीतमा देउरालीमा फूल चढाएर जुनी-जुनीसम्म सँगै रहने कसम खाएको प्रेम क्षणभरमै छालभित्र हराउँदाको असह्य पीडा छ । अजम्बरी ठानिएको माया दैवको खेलमा छुट्दा बाँकी रहने आँसु, सम्झना र जीवनभर नमेटिने घाउको कथा छ। प्रेम र बिछोडको भावमा लेखिए पनि यसले बाढीमा आफ्ना मान्छे गुमाएका र जीवनका सपना बगाएको पीडा भोगेका मानिसहरूको दुःखसमेत सम्झाउँछ ।

‘आँखामा बसेको मान्छे आँसु बनेर झर्‍यो’ भन्ने पङ्क्तिले गीतको मर्मलाई गहिरोसँग समेटेको छ। आँखामा सजाएर राखेको मान्छे नै आँसु बनेर झर्नुपर्दाको विवशता र मनले स्वीकार्न नसकेको बिछोडको पीडा यसमा पोखिएको छ।

देउरालीमा फूलको थुङ्गा चढाएर सयौँ जुनी सँगै हुने कसम खाएको प्रेम क्षणभरमै छालभित्र हराउँदा मनमा परेको चोटलाई गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । बेमौसमी भेल र सपनामा गएको पहिरोको विम्बले अचानक आइपर्ने विपत्तिले मानिसको जीवन कसरी तहसनहस पार्छ भन्ने देखाउँछ । फूलजस्तो सुन्दर संसार चर्किएको सिसाजस्तै बन्नु र समय बित्दै जाँदा पनि मनको घाउ निको हुनुको साटो झन् गहिरिँदै जानुले गीतलाई थप भावुक बनाएको छ ।

गीतका शब्दमा प्रेमीले भोगेको बिछोडको कथा सुनिए पनि त्यसको अन्तर्यमा बाढीले निम्त्याएको मानवीय क्षतिको पीडा पनि महसुस गर्न सकिन्छ । विपत्तिमा आफ्ना प्रियजन गुमाएकाहरूका लागि ‘आँखामा बसेको मान्छे’ केवल एउटा गीत नभई सम्झना, वियोग र अधुरो जीवनको कथा बन्न सक्छ।

खतिवडा यसअघि पनि विभिन्न गीत तथा गजल लेखनमा सक्रिय रहँदै आएका छन् । तर, यसपटक उनले बाढीपछि उद्धार र राहतमा खटिँदा देखेको मानवीय पीडालाई गीतमार्फत अभिव्यक्त गरेका छन् । विपत्तिले भत्काएका घरहरू पुनर्निर्माण हुन सक्छन्, उजाडिएका बस्ती फेरि बौरिन सक्छन्, तर आफ्ना मान्छे गुमाउँदाको घाउ र अधुरा सपनाको पीडा सजिलै मेटिँदैन।

त्यही पीडालाई शब्दमा उतारिएको ‘आँखामा बसेको मान्छे’ ले त्रिशूली बाढीको त्रासदी र त्यसले मानिसको मनमा छाडेका घाउलाई भावनात्मक रूपमा सम्झाउने प्रयास गरेको छ। गीत थानेश्वर गाैतमको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : November 2, 2026 at 1:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/