९६.४१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा
१५ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा झन्डै दोब्बरले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको नाफा ३३ करोड २३ लाख ३१ हजार रुपियाँ थियो। यसअनुसार बैंकको नाफा ९६.४१ प्रतिशतले बढेको हो ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी प्रमुख कारण देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपैयाँ रहेको यस्तो व्यवस्था चालु आवमा ३८.३६ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपियाँमा सीमित भएको छ । यसबाट बैंकलाई अघिल्लो वर्षको तुलनामा ७४ करोड २३ लाख ५१ हजार रुपैयाँ कम रकम कर्जा जोखिम व्यवस्थापनमा छुट्याउनुपरेको छ। बैंकको सञ्चालन नाफा ११२.९९ प्रतिशतले बढेर ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आवको सोही अवधिमा १.६५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड १ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ। गत असार मसान्तको तुलनामा असोजसम्म बैंकको ग्राहक निक्षेप ३.५८ प्रतिशतले वृद्धि भएको छ। असारमा ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ रहेको निक्षेप असोज मसान्तमा बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : November 1, 2026 at 2:10 pm










