कुमारी बैंकको खुद नाफा १ अर्ब ७ करोड माथि, ईपीएस कति ?
१५ कात्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १.७० प्रतिशतले बढी हाे । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ रहेको थियो । इम्पेयरमेन्ट चार्जमा आएको यही ८१ करोड ४१ लाख रुपैयाँको ठूलो कमीका कारण खुद ब्याज आम्दानी खुम्चिँदा पनि बैंकको सञ्चालन मुनाफा ३२.४० प्रतिशतले वृद्धि भई १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने २८.१९ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा घटेर २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाखबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ४ अर्ब ४२ करोड ४० लाखबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा ८४ करोड ९१ लाख ९६ हजार रुपैयाँ थियो । साथै खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ६.३६ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँबाट ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि ७.६८ प्रतिशतले बढेर २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँबाट २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको कुल निष्कृय कर्जा (एनपिएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.९८ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ८.७२ प्रतिशत पुगेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि १.५६ प्रतिशतबाट वृद्धि भई २.१७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेका कारण कुल निष्कृय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज गत वर्षको १२९.६३ प्रतिशतबाट घटेर ९१.६६ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा र तरलता अनुपात ३५.४९ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंककाे चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : November 1, 2026 at 9:44 am










