नोक्सानीबाट नाफामा फर्कियो सिटिजन्स बैंक, निष्क्रिय कर्जा कति ?
१५ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्कँदै वित्तीय सुधारको सकारात्मक संकेत दिएको छ। बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड ७४ लाख ९४ हजार रुपैयाँ थियो । कर्जा जोखिम व्यवस्थापन बापतको रकममा ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँले घट्दा बैंक नाफामा जान सफल भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने ७.४९ प्रतिशतको गिरावट देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा खुम्चिएर १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँमा झरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको निक्षेप संकलन १२.७८ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको असोजमा २ खर्ब १५ अर्ब २२ करोड ४६ लाख रुपैयाँ थियो । कर्जा विस्तारतर्फ बैंकले ४.२१ प्रतिशतले वृद्धि गर्दै कुल कर्जा प्रवाह १ खर्ब ७६ अर्ब ८ करोड १ लाख रुपैयाँबाट बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.८४ प्रतिशत रहेको कुल निष्कृय कर्जा (एनपिएल) चालु आवको सोही अवधिमा सामान्य घटेर ६.८० प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्य (२०८३ असार मसान्त) को ५.७८ प्रतिशतको तुलनामा भने निष्कृय कर्जामा केही वृद्धि देखिएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा २ रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको पहिलो त्रैमासको वितरणयोग्य रकम ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रकाशित मिति : November 1, 2026 at 9:30 am










