साढे २ अर्ब नाघ्यो नबिल बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
१५ कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको ब्याज खर्च १७.४ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १६.४ प्रतिशतले वृद्धि भई ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ कायम भएको छ।
गत वर्ष ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष १६ करोड ४० लाख रुपैयाँ मात्रै नोक्सानी व्यवस्थामा राखेको छ। बैंकको खराब कर्जा अनुपात पनि ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ।
असोज मसान्तसम्म बैंकको निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड र कर्जा लगानी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा कायम भएको छ।
यद्यपि, बैंकको पुँजीकोष अनुपात १२.६७ प्रतिशतबाट घटेर ११.६७ प्रतिशतमा सीमित भएको छ। मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा आएको छ। बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको छ।
प्रकाशित मिति : November 1, 2026 at 9:12 am










