१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

३० खर्ब नाघ्याे सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार १ लाख बढी

१३ कात्तिक, काठमाडौँ । सार्वजनिक ऋण दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ०९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो। यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत हुन आउँछ। यस अनुसार प्रत्येक नेपालीको भागमा १ लाख रुपैयाँभन्दा बढी ऋणभार पुगेको छ।

गत आर्थिक वर्ष २०८२/८३ सम्ममा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो। चालु आवको पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ नयाँ ऋण लिएको छ । यस अवधिमा सरकारले ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ। अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमय दरमा आएको  उतारचढावले १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बराबर नाफा (ऋण दायित्व कम) भएपछि खुद ऋणभार ३० खर्ब ९ अर्ब नाघेको हो।

हाल कायम सार्वजनिक ऋणको संरचनामा बाह्य ऋणको हिस्सा आधाभन्दा बढी छ। कार्यालयका अनुसार कुल ऋणमा बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ। कुल गार्हस्थ्य उत्पादनको तुलनामा आन्तरिक ऋणको आकार २१.३७ प्रतिशत र बाह्य ऋणको आकार २४.२२ प्रतिशत कायम भएको छ।

सरकारले चालु आवमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड ०७ लाख रुपैयाँ ऋण परिचालन गर्ने वार्षिक लक्ष्य राखेको छ। जसमध्ये पहिलो त्रैमासिक अवधिमा वार्षिक लक्ष्यको १८.७३ प्रतिशत अर्थात् १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण परिचालन भएको छ। सरकारले वर्षभरिमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा असोजसम्म १ खर्ब रुपैयाँ परिचालन गरिसकेको छ ।

 

प्रकाशित मिति : October 30, 2026 at 12:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/