१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो, कुनको कति ?

११ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघेको छ। । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.१५ प्रतिशत बढी हो ।

बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले कर्जा असुलीपछि प्राप्त धितो व्यवस्थापन र बिक्री बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ । समीक्षा अवधिमा १४ बैंकको यस्तो सम्पत्ति बढेको छ भने पाँच बैंकमा घटेको छ ।

ऋणीले कर्जा तिर्न नसकेपछि बैंकले धितो लिलामी वा अन्य कानुनी प्रक्रियामार्फत आफ्नो स्वामित्वमा लिएका घरजग्गा तथा अन्य सम्पत्ति गैरबैंकिङ सम्पत्तिमा गणना हुन्छन् । यस्ता सम्पत्ति बैंकको स्वामित्वमा आए पनि तत्काल नगदमा रूपान्तरण नहुने भएकाले तिनको बिक्री र व्यवस्थापन कर्जा असुली प्रक्रियाको महत्त्वपूर्ण पक्ष बन्ने गरेको छ ।

वाणिज्य बैंकहरूमध्ये हिमालयन बैंकमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ रहेकाे छ भने ग्लोबल आइएमई बैंककाे गैरबैंकिङ सम्पत्ति ५ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको रहेको छ ।

प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकमा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ, नबिल बैंकमा ३ अर्ब ८ करोड २० लाख रुपैयाँ र प्रभु बैंकमा २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकमा २ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ, एनएमबी बैंकमा १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ र सिटिजन्स बैंकमा १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ ।

कृषि विकास बैंकमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकमा १ अर्ब ३६ करोड १० लाख रुपैयाँ र सानिमा बैंकमा १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ ।

सिद्धार्थ बैंकमा ८९ करोड ३७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकमा ६३ करोड ३२ लाख रुपैयाँ, एभरेष्ट बैंकमा ५० करोड ५८ लाख रुपैयाँ र नेपाल बैंकमा ३६ करोड ८१ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा भने २७ करोड ७३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : October 28, 2026 at 12:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/